महाधिवेशनको करिब आठ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी त टुंग्याए, तर विवादमुक्त बनाउन सकेनन् ।
निकै लामो समय लिएर प्रचण्डले चयन गरेको पदाधिकारी टिममा न युवा छन्, न समावेशी छ । २१ सदस्यीय पदाधिकारीमा खस आर्य समुदायबाट १५ जना पर्दा आदिवासी जनजाति समुदायबाट ४, मधेशी २ र महिला १ जना मात्रै छन् । दलित, मुस्लिम र थारु समुदायको त प्रतिनिधित्व नै छैन ।माओवादी पदाधिकारीमा ५१ वर्षका वर्षमान पुन सबैभन्दा कान्छा नेता हुन् ।धेरै पछि प्रचण्डले बल्लतल्ल पदाधिकारी चयन गर्न सक्नुलाई नै कतिपय नेताहरुले सकारात्मक ठानेका छन् । ‘हामीलाई त यति पनि गर्न गाह्रो भएको थियो’, पदाधिकारी चयन भएका एक नेताले भने, ‘तर, हामीले सोचेजस्तो, जनताले सोचेजस्तो र कार्यकर्ताले सोचेजस्तो पदाधिकारी टिम भएन ।’