
जुम्ला – जुम्लाको हिमा गाउँपालिका १ ले सामाजिक सुरक्षा भत्ता बुझ्न जाने सेवाग्राहीलाई गाडीकाे सुविधा दिन थालेको छ । वडा नम्बर १ का धेरैलाई बैंकमा आउन झन्डै एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान गाडीकाे सुविधासहित सामाजिक सुरक्षा भत्ता बुझ्न र घर आउन सहज हुने भएको छ ।
वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षा भत्ताका लागि गाडीकाे व्यवस्थापन गरी सेवा दिइएको छ । वडा अध्यक्ष शाहीका अनुसार बालबालिका दुई सय ६१ जना, ज्येष्ठ नागरिक एक सय ७३ जना, एकल महिला १८ जना र अपाङ्गता भएका व्यक्ति चार जनालाई गाडी रिजर्भ गरेर सेवा दिइएकाे छ ।
भौगोलिक रूपमा गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले गाडी चढाएर बैंक पुर्याएपछि ज्येष्ठ नागरिकसहितका सेवाग्राही खुसी भएका छन् । हिँडेर जान नसकिने, साधन पनि पाउन कठिन हुने समयमा वडाले राम्रो काम गरेको उनीहरूले बताएका छन् । ८३ वर्षीय धनबहादुर रोकायाले यसअघि सामाजिक सुरक्षा भत्ता लिन जाँदा कठिन भएकाे तर याे पटक वडाले गाडीकाे व्यवस्था गरेकाेले सजिलो भएको बताउनुभयो ।