वन तथा वातावरणमन्त्री प्रदीप यादवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन बहुचर्चित अरुण तेस्रो जलविद्युत् परियोजना बनेपछि देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताउनुभएको छ ।
आज मङ्गलवार राष्ट्रिय प्राथमिकताको रूपमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको स्थलगत अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले यो परियोजनाको काम सक्नका लागि आफूसहित सिङ्गो मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुण तेस्रो जलविद्युत् परियोजना भए देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ, यो परियोजना सम्पन्न गराउन मन्त्रालयबाट पर्ने आवश्यक सहयोग गर्न तयार छौँ ।’
मन्त्री यादवले मन्त्रालयमा यो परियोजनाका विचाराधीन फाइलका कारण कामका केही समस्या भएको गुनासोप्रति आफू गम्भीर रहेको र ती फाइलको आवश्यक अध्ययनपछि अनुमति दिइने प्रतिबद्धता जनाउनुभयो । यो परियोजनाको सफलताले नेपाल र भारतबीचको सम्बन्ध पनि थप प्रगाढ हुने उहाँको भनाइ थियो । मन्त्री यादव, सचिव डा. पेमनारायण कँडेलसहितको टोलीले आज यो परियोजनाको अहिलेसम्म भएका कामका बारेमा जानकारी लिनुका साथै स्थलगत अवलोकन गरेको हो ।
अवलोकनका क्रममा मन्त्री यादवले थोरै समयमा पनि परियोजनाले धेरै काम गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको अरुण तेस्रो आयोजना बनाउने जिम्मा भारतीका सतलज विद्युत् निगमले लिएको छ ।