महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभाबी फोहर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारबाही गर्ने बताउनुभएको छ ।
नेपाल प्रहरीको आयोजनामा आज बुधवार काठमाण्डाैमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सीसीटीभी हेरेर जथाभाबि फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताउनुभयो ।
विशेषगरी रातको समयमा यसरी जथाभाबी रूपमा फोहर फालिने गरिएको छ । उहाँले उपत्यकाको सीसीटीभी क्यामराेका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिनुभयो । नेपाल प्रहरीले उपत्यकामा अहिले पाँच हजार सीसीटीभी क्यामेरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सीसीटीभी क्यामेरा चाहिने जनाएको छ ।
मेयर साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिनुभयो । उहाँले पार्किङका लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताउनुभयो ।