अवैध संरचना त भत्किए तर फोहर सफा गर्ने कस्ले ?

  • कालिका खवर
  • शनिबार, भदौ ११, २०७९
  • चाबहिल बस्ने रमा पाण्डे काठमाण्डौ मल अगाडि सुन्धारामा गाडी कुरिरहनु भएको छ । गाडी आए पनि भिड भएर चढ्न नसक्दा उहाँ उभिएको करिब आधा घण्टा भयो । न्युरोड गएर किनमेल गरेर आउनु भएकी उहाँ काठमाण्डौ मल अगाडिको सडक पेटीमा रहेको टायल, काठ, सिसाका टुक्रा हेरेर अब यो सफा चाहिँ कस्ले गर्ने हो भनेर प्रश्न गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘महानगरले अवैध भनेर भत्काउन त भत्कायो तर अब सफा चाहिँ कस्ले गर्ने हो ? त्यो पनि व्यवस्था गरिदिए राम्रो । हुन्थ्यो । हामी जस्ता सडक पेटीबाट हिँड्नु पर्ने पैदल यात्रीको खुट्टा मर्किएला भन्ने डर भयो ।’

    गाडी कुर्ने र दैनिक मान्छेको आउजाउ गर्ने मुख्य सडक पेटी भएका कारण सुन्धारा सधैँ भिडभाड हुने गर्छ । अझ त्यसमा साँघुरो पेटी यात्रुको चापले ठेलमठेल हुने सुन्धाराको सडक पेटीमा काठमाण्डौ मल भत्काएको फोहर र टुक्राटाक्रीले पैदल यात्रुका लागि अझ कष्टकर बनेको छ ।

    काठमाण्डौ मलको तल्लो तलामा पसल गर्ने राजन भट्टराई मलको बाहिरपट्टि आफ्ना केही साथीहरुसँग गफिँदै हुनुहुन्छ । बिहीवारदेखि उहाँहरुले पसल खोल्न पाउनु भएको छैन । महानगरले तल्लो तला सबै पार्किङ बनाउनुपर्छ भनेका कारण उहाँहरुले पसल खोल्न नपाउनु भएको हो । मलको व्यवस्थापन पक्ष र महानगरबीच यसका विषयमा छलफल चलिरहेको छ । भट्टराई भन्नुहुन्छ, ‘यहाँ पार्किङ छ तर महानगरले तल्लो तला सबै पार्किङका लागि खुला गर्नुपर्छ भनेका कारण पसल नखोल्नु भनेको छ भन्ने कुरो आएको छ व्यवस्थापन पक्षबाट । दशैँ आइसक्यो मर्का भने हामीलाई परेको छ ।’

    मलको बाहिर सडक पेटीमा रहेको फोहरबारे उहाँ भन्नुहुन्छ, ‘महानगरले फोहर सम्बन्धित घरबेटीले नै सफा गर्नुपर्छ भनेको छ । हेरौँ अब कस्ले गर्छ । तर, अहिलेको यो पसल खोल्ने नखोल्ने विवाद मिल्यो भने यो त सफा होला । यो के ठूलो कुरो रह्यो र ।’

    काठमाण्डौ महानगरले अवैध संरचना भत्काएको न्युरोडको आरबी कम्प्लेक्समा पनि भत्किएका संरचनाको अवशेष असरल्ल छ । यहाँको यो फाेहर पनि कस्ले सफा गर्ने भन्ने अन्योल छ । तर, यहाँका अवशेष धेरै कबाडीमा बिक्री हुने अवस्थाको रहेको हुनाले त्यति समस्या देखिँदैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs