पशुपतिकाे मूल मन्दिर परिसरको तस्बिर खिचे दुई हजार रुपैयाँसम्म जरिबाना

  • कालिका खवर
  • शनिबार, भदौ ११, २०७९
  • हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिबाना गरिने भएको छ ।

    पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयाे ।

    तस्बिर खिच्न मनाही गरिएको ठाउँको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिबाना रुपैयाँ गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।

    कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs