
चार दिनअघि त्रिवि कार्यकारी परिषद् बैठक बसिरहेको एक होटलमा नेविसंघ त्रिवि इकाइका योगेन्द्र रावलको समूहले घेराबन्दी गरेर कागजात नियन्त्रणमा लियो । त्रिवि परिसरभित्र बैठक गर्न नपाएका पदाधिकारी कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा गएका थिए । तर नेविसंघका कार्यकर्ताको रवाफ यस्तो थियो, मानौं त्यो कागजात उनीहरुले विश्वविद्यालयका अधिकारीहरुबाट होइन, अपराधीहरुबाट बहादुरीपूर्वक खोसिल्याउन सफल भएका हुन् ।
विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा त्यही नेविसंघका संस्थापक सभापति हुन् । आफ्नो दलसँग जोडिएका भ्रातृसंस्था कार्यकर्ताहरुको ताल देखेर उनी स्वयं आजित भए । मिडियामा कागजात कब्जाको खबर फैलिएसँगै उनले गृहमन्त्रीलाई भने, ‘चोरी मुद्दा लगाउनुस् तिनीहरुलाई, लगेर थुन्दिए हुन्छ ।’ देउवाले उपकुलपतिलाई कागजात बुझाउन निर्देशन दिए पनि गृहमन्त्रीले शिक्षामन्त्री देवेन्द्र पौडेलमार्फत् सेफल्यान्डिङ गराउन चाहे । प्रधानमन्त्रीको कडा निर्देशनपछि दस्तावेजहरु त्रिवि पदाधिकारीलाई नै फर्काउन नैतिक संकट परेको र प्रधानमन्त्रीलाई नै फर्काउन पनि डराएपछि शिक्षा मन्त्रीलाई बुझाएको मन्त्रालयका एक अधिकारीको जिकिर छ ।यो घटनापछि त्रिवि पदाधिकारीमा त्रास थपियो । त्यसैले त्यही दिन उपकुलपति कार्यालयले निजी सुरक्षा अधिकृत व्यवस्था गरिदिन कुलपति समेत रहेका प्रधानमन्त्री देउवालाई समेत सम्बोधन गर्दै सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई पत्र लेख्यो ।उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले उक्त पत्रमा लेखेका थिए, ‘केही समूहको नामबाट तालाबन्दी गर्ने उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दैनिक फोन गरी धम्क्याउने, गालीबेइज्जजी गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानून र सामाजिक मर्यादाले पचाउन नसक्ने शब्दहरु उल्लेख गरी म्यासेज गर्ने, आफ्नै कार्यालय छिर्नबाट निषेध गर्ने जस्ता कार्य गर्ने र सोलाई निरन्तरता दिँदै आएका कारणले पदाधिकारी गम्भिर असुरक्षित भएको जानकारी गराउँदछु । अतः पदीय जिम्मेवारीले गर्दा दैनिक दिन कार्यालय र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा समेत भौतिक रुपमा नै आक्रमण गर्ने सम्भावना भएकोले सो असुरक्षाबाट बच्नको लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई-दुई जना निजी सुरक्षा अधिकृतको व्यवस्था गरिदिई शान्तिपूर्ण रुपमा काम गर्ने वातावरण मिलाई दिनुहुन अनुरोध गर्दछु ।’
त्यसपछि भदौ १२ गते त्रिविले पत्रकार सम्मेलन आयोजना गर्यो । सम्मेलनलाई नेविसंघले बिथोल्न खोज्दा दुई विद्यार्थी संगठनबीच सामान्य झडप भयो । रावलको समूहले त्रिविले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा अनेरास्ववियुले प्रतिकार गर्ने क्रममा केही सामान्य घाइते समेत भए । प्रहरी आइसकेका कारण अप्रिय घटना हुन सकेन ।