एक सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

  • कालिका खवर
  • बिहिबार, भदौ १६, २०७९
  • प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिनुभएको छ ।

    व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ ।

    पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको हो । गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको थियो त्यसपछि नवजात शिशुलाई आईसीयूमा भर्ना गरिएको थियो । बच्चा भने जीवितै रहेका र महिलाको ज्यान गएको विषयमा अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।

    तर स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि आलोचकहरूले पोर्चुगलमा प्रसूति अस्पतालहरूमा कामदारको अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो र पोर्चुगललाई कोरोना महामारीको ठूलो क्षति कम गर्ने श्रेय पनि उहाँलाई दिइन्छ । तर उहाँले एक विज्ञप्ति निकालेर आफूले पदमा रहिरहने कुनै कारण नभएको उल्लेख गर्नुभएको छ ।

    पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले गर्भवती महिलाको मृत्यु नै डाक्टर टेमिडोको राजीनामाको अन्तिम कारण साबित भएको बताउँदै अहिलेसम्मका उत्कृष्ट कामका लागि धन्यवाद दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs