नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरुमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गरिने छ । साथै २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरुको क्षमता बढाउने तथा नयाँ थपिने छ ।
प्राधिकरणले अहिले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ । यसै कार्यक्रमलाई कास्कीको पोखरा र भरतपुर वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा विस्तार गरिएको हो । शिलान्यास कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय संरचना भूमिगत गर्ने कार्यले स्मार्ट र सुन्दर भरतपुर स्थापनाको लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । तार भूमिगत गर्ने कार्य जनताको सुरक्षा र सहरी क्षेत्रको सौन्दर्यसँग जोडिएकोले यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।