निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्वीकार गर्नुभएको छ । आज आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले यस मुद्दाको फैसलामा आफूलाई गल्ती महसुस भएको र यसै कारण आफूलाई महाअभियोग लगाइएको हो भने नागरिकसँग माफी माग्न तयार रहेको बताउनुभएमो हो ।
‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ’, समितिमा जबराले भन्नुभयो । उहाँले रञ्जन कोइरालाको मुद्दाको फैसलाको आधारमा महाभियोग लगाइएको हो भने आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको पनि बताउनुभयो ।
संसदीय सdlतिले श्रीमतीको हत्या गरेको जान्दा जान्दै पनि त्यस्तै गम्भीर र सङ्गीन मुद्दाको पुनरावलोकनमा हेलचक्रयाइँ गरेको र स्वार्थ बाझिने गरी कोइरालालाई उन्मुक्ति दिएको तथा फैसलाको बारेमा मिडियामा बोल्दै हिँडेको विषयमा प्रश्न सोधेको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले रञ्जन कोइरालालाई कैदमुक्त गर्दा परिवारको प्रभावमा परेर गल्ती गरेको बताउँदै यदि त्यसैलाई आधार मानेर अभियोग लगाएमा आफूले सहने बताएको नेपाली कांग्रेसका सांसद् एवम् महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताउनुभयो ।
डीआईजी कोइरालाले झन्डै नाै वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए । तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो ।