सन्दीपमाथिकाे आराेप पुष्टि नभएसम्म क्यानले निलम्बन वा कुनै कारबाही नगर्ने

  • कालिका खवर
  • बुधबार, भदौ २२, २०७९
  • राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले तत्काल कुनै पनि छानबिन नगर्ने बताएको छ ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोपमात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दले भन्नुभयो ।

    उहाँले कानुनीरूपमा पुष्टि नभएसम्म सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भइ अहिले काठमाण्डाैकाे बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाण्डाै र भक्तपुरका विभिन्न ठाउँमा घुमाएको र त्यही दिनकाे राति काठमाण्डाैकाे एक होटलमा ल्याएर जबरजस्ती गरेको आरोप छ ।

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्ट इन्डिजकाे जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यही भदौ ६ गते केन्या गएका थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs