बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

    भारत सरकारले आउँदो सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवार गरेको अधिकारीहरुले जनाएका छन् । ‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

    शोक मनाउने दिन भारतभर र विदेशमा रहेका भारतीय कार्यालयहरूमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

    भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने बेलायती महारानीको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गर्नुभएको थियो ।

    प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रूपमा स्मरण गर्नुभएको छ । उहाँले प्रकाशित गर्नुभएको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।

    सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नुभएको छ । ‘उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन’, प्रधानमन्त्री मोदीले लेख्नुभएको छ ।

    उहाँको निधनप्रति विश्वका अन्य देशका नेताहरूले पनि शोक व्यक्त गर्नुभएको छ भने अन्य देशहरूले पनि शोक मनाउने निर्णय गरेका छन् ।

    बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँले बेलायतको रानीको रूपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनसँगै उहाँका छोरा चार्ज तृतीय बेलायतको राजा बन्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs