पोखरामा प्रचण्ड-बाबुराम : हिजो जे भयोभयो, अब मिलेरै जाने हो

  • कालिका खवर
  • शनिबार, भदौ २५, २०७९
  • ‘बाबुराम भट्टराईजीसँग हँसिया हथौडा चुनाव चिहृन लिएर चुनाव लड्ने सहमति भइरहेको छ । चुनावअघि कार्यगत एकता गर्ने र चुनावपछि पार्टी एकता नै गर्ने हो । उहाँलाई माओवादीमा स्वागत नै गरौं, कहीँकतै अपमान हुनेखालका कुरा नगरौं ।’

    नेकपा माओवादी केन्द्रमा गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.भट्टराईप्रति सहानुभूति देखाए । चुनावको मुखमा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै प्रचण्डले बाबुरामलाई चुनावमा जिताउनुपर्ने संकेतसमेत गरे ।भट्टराई माओवादीसँग मिल्ने र अरु शक्तिसँग पनि मिलन हुन पहल भइरहेको सन्देश जाँदा माओवादीलाई फाइदै पुग्ने प्रचण्डको भनाइ थियो । ‘बाबुरामजी हिजो जसरी बाहिरिए पनि अब माओवादीमै आउने कुराले सकारात्मक सन्देश गएको छ । उहाँलाई स्वागत र सम्मान गर्नुपर्छ । चुनावपछि पार्टी एकता नै गर्ने कुरा छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य आशा कोइरालाले भनिन्, ‘हिजो जेजे भयो भयो, अब मिलेर जानुको विकल्प छैन । माओवादीबिना अरु दलको केही लाग्दैन, हामीले जसरी पनि चुनावमा धेरैभन्दा धेरै सीट ल्याउनै पर्छ ।’

    ‘हामी बाबुराम भट्टराई पनि छोड्न सक्दैनौं तर माओवादीबाट निस्केयता जिल्लामा सधैं पार्टीको कमिटीमात्रै गठन गरिरहनुपरेको छ । एकपछि अर्को पार्टीको कमिटी । अब फेरि माओवादीसँग मिल्ने भनिएको छ, यो पनि मिल्ने हो कि बिलय हुने हो ?’

    पोखरामा शुक्रबार भएको नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा एक जिल्ला अध्यक्षले डा. बाबुराम भट्टराईलाई प्रश्न उठाए । जिल्ला/जिल्लाबाट अध्यक्षहरुले रिपोर्टिङ गर्ने क्रममा अधिकांश जिल्ला अध्यक्षले माओवादी केन्द्रसँग हुने भनिएको एकताबारे प्रश्न राखे ।

    चुनावमा फरक फरक पार्टीसँग एकता गर्ने, पार्टी पनि विभिन्न परिस्थितिबाट गुजि्रनुपर्ने अवस्था र अब माओवादीसँग गर्ने भनिएको एकता कस्तो खालको हो ? भन्ने सबैजसोको जिज्ञासा र चासो रहेको नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापाले बताए ।

    नेता कार्यकर्ताको जिज्ञासा तथा प्रश्नलाई सम्वोधन गर्दै डा. भट्टराईले माओवादी आन्दोलनलाई आफूले कहिल्यै खराब नभनेको तर माओवादी सच्चिन जरुरी छ र अब राजनीतिलाई फरक ढंगले लैजाऔं भनेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs