भारतले नेपाली अलैँची ७ सय रुपैयाँमा किनेर खाडी देशमा १७ सय भारुमा बेच्छ : अध्यक्ष गाेल्यान

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवालाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाउनुभएको छ ।

    आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खाडी देशमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्रान्ड बनाएर खाडी देशमा निर्यात गर्न सक्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची सात सय रुपैयाँमा आयात गरेर खाडी देशमा १७ सय भारुमा निर्यात गर्ने गरेको बताउनुभयो । उहाँले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिबिफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘हामी अलैँची सात सय रुपैयाँमा भारतमा निर्यात गर्छाैँ । त्यही अलैँची भारतले १७ सय भारुमा खाडी देशमा बिक्री गर्छ । नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नुहुन्छ भने बैंक तथा वित्तीय संस्था परिसङ्घ र वाणिज्य बैंकहरूले पैसाको कम हुन दिँदैन । त्यसका लागि सहयोग गर्ने प्रयासमा छौँ । अब नेपाली भएर नेपाली लगाऔँ, नेपाली खाऔँ ।’

    अध्यक्ष गोल्यानले युवा भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्न सक्ने दाबी गर्नुभयो ।

    अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनुभयो । उहाँले नेपालमा अहिले चार खर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात भइरहेको भन्दै नेपालमा दुई खर्ब रुपैयाँको कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गर्नुभयो ।

    अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनका लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनुभयो । उहाँले अब सबै नेपालीले नेपाली लगाऔँ नेपाली खाऔँ अभियान चलाउनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs