काठमाण्डौ महानगरले माछापाेखरीमा सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटायो

  • कालिका खवर
  • बुधबार, भदौ २९, २०७९
  • काठमाण्डौ महानगरपालिकाले माछापोखरीमा तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाएको छ ।

    काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाण्डौ –१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो ।

    महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले नगर प्रहरीको टोलीले हटाएको जानकारी दिनुभयो ।त्यस क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो ।

    यस्तै, नगरप्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजारसमेत हटाएको छ । यसअघि आजै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाएको थियो ।

    काठमाण्डौ –१६ का वडाअध्यक्ष मुकुन्द रिजालले अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको जानकारी दिनुभयो । कामपा–१६ ले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनपहिले पत्राचारसमेत गरेको थियो ।

    महानगरपालिकाले यसअघि न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृतरूपमा बनाइएका संरचना हटाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs