काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।
माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अंगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ । नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’यद्यपि दुबैको कारबाहीलाई निर्वाचन आयोगले वैधता दिएन । बरु २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो । यससँगै एमाले र माओवादी केन्द्र व्यूँतियो ।