३ दशकसम्म कांग्रेसमा राज गरेका द्विवेदीको पर्दाफास, स्वतन्त्र उठेर ढोंग गर्दै

  • कालिका खवर
  • आइतवार, अशोज ३०, २०७९
  • वीरगन्ज – मंसिर ४ गते हुने आम निर्वाचनमा दुई ठूला दल एमाले र कांग्रेस बेग्ला बेग्लै गठबन्धन बनाई चुनावी महाअभियानमा होमिएका छन् । गठबन्धन निर्माण गर्दा कतिपय राष्ट्रिय, प्रभावशाली, चर्चित नेताहरुले टिकट नपाएको अवस्था छ । मधेश प्रभाव क्षेत्र रहेको जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग गठबन्धन गरेको छ भने अर्को मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ ।

    कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ आफूलाई राखेर लोसपालाई क्षेत्र नम्बर १ दिएको छ । ०७४ को निर्वाचनमा ४ वटै क्षेत्रमा कांग्रेस पराजित भएको थियो । तत्कालिन संघीय समाजवादी फोरमले ३ वटा र राजपाले १ वटा क्षेत्र जितेका थिए । पर्साको २, ३ र ४ मा क्रमश: अजय चौरसिया, सुरेन्द्र चौधरी र रमेश रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।

    क्षेत्र नम्बर एक लोसपाको भागमा परेकाले त्यहाँ निवर्तमान सांसद लक्ष्मण लाल कर्णले उम्मेदवारी दिएका छन् । कर्ण ०७४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट जितेका थिए । कांग्रेसले उम्मेदवारी दिएको कुनै पनि क्षेत्रमा मधेशवादी दलले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका छैनन् । तर, कांग्रेसका पूर्व जिल्ला सभापति अजय कुमार द्धिवेदीले पर्सा क्षेत्र नम्बर एकबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन् ।

    ‘विभेदको खिलाफ विद्रोह, अन्याय के खिलाफ प्रतिकार’ ∕ भन्ने नाराका साथ द्धिवेदी चुनावी अभियानमा लागेका छन् । तर, उनले अगाडि सारेको नारा आफैमा विरोधाभाषपूर्ण देखिएका छन् । आफूले टिकट नपाएपछि विभेद र अन्यायको रुपमा व्याख्या गरेका द्धिवेदी ६ महिना अगाडिसम्म पर्सा कांग्रेसका जिल्ला सभापति पदमा आसिन थिए ।

    कांग्रेसीजनका अनुसार द्धिवेदी २०४९ सालदेखि निरन्तर पदमा बसेका नेता हुन् । बहुदल आएपछि देशमा भएको पहिलो स्थानीय तहको चुनावमा द्धिवेदी कांग्रेसबाट वीरगन्जको उपमेयरमा विजयी भएका थिए । त्यसबेला द्धिवेदी जम्मा २७/२८ वर्षका युवा थिए । उपमेयरको कार्यकाल समाप्त भएपछि देशमा माओवादी जनयुद्ध चरममा थियो । त्यसपछि शाहीकालमा लोकतान्त्रिक गतिविधी भएनन् ।

    कांग्रेस विभाजित हुँदा द्धिवेदी देउवा नेतत्वको प्रजातान्त्रिक कांग्रेसमा द्धिवेदी लागेका थिए । पर्साको जिल्ला सभापति बने । केही वर्षको अन्तरालमा दुबै कांग्रेस समायोजन हुँदा द्धिवेदी नै जिल्ला सभापति बने । त्यसपछि फेरि दुई कार्यकला उनी जिल्ला सभापतिमा निर्वाचित भए । जिल्ला सभापति हुँदा हुदै गत वर्ष भएको १४ औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । तर, पराजित भए । ६ महिना अगाडि मात्र भएको कांग्रेसको जिल्ला अधिवेशनमा द्धिवेदीको कार्यकालपछि जर्नाधन सिंह क्षेत्री विजयी भएका हुन् ।

    द्धिवेदीको समूहबाट श्याम पटेल चुनाव लडेका थिए । ०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा द्धिवेदी पर्सा क्षेत्र नम्बर एकबाट विजयी भए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी एमालेका विचारी यादवसँग पराजित भए । ०७४ सालमा भएको वीरगन्ज महानगरपालिकाको निर्वाचनमा उनी जसपाका विजय सरावगीसँग पराजित भएका थिए ।

    द्धिवेदी जिल्ला सभापति हुँदा आफू मेयरमा हारे । त्यसपछि भएको आमनिर्वाचनमा उनी सभापति हुँदा नै पर्साको ४ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भए । चुनाव हारेपनि उनी जिल्ला सभापति पदमा विराजमान नै थिए । ‘३ दशक लगातार सत्तामा रहेका व्यक्ति एउटा चुनावमा टिकट नपाउँदैमा कसरी विभेदमा पर्छ ?,’ कांग्रेसका एक पुराना नेता भन्छन्, ‘पदबाट हटेको ५/६ महिनामा फेरि अर्को ठाउँमा व्यवस्थापन नहुँदा अन्याय हुन्छ ?’

    ती पुराना नेताका अनुसार पर्सा कांग्रेसमा अन्याय नै भएको छ भने, त्यो अन्याय महावीर शर्मा, विशु टेमानी, सत्यनारायण तुलस्यान, विश्वनाथ शर्मा, अजय द्धिवेदी कै चाचा भागवत दुबे, स्वतन्त्र सेनानी मुक्ती पटेल, देवेन्द्र लाल नेपाली, राजकृष्ण अमात्य, लक्ष्मीनाथ नेपाल, श्याम पोखरेल लगायतका नेताहरुसँग भएको छ ।

    तर, ती नेताहरुले सार्वजनिक रुपमा अझै आफू विभेदमा परेको भनेर भनेका छैनन् । ‘कांग्रेसले अन्याय गर्दैन्,’ ती नेता भन्छन्, ‘अन्याय गर्ने भएको भए ८४ वर्षीय शान्ति कार्कीले कसरी वीरगन्ज महानगरको उपमेयरको टिकट पाईन्, कार्की प्रति वीरगन्जका जनताले पनि न्याय गरे ।’ कांग्रेसका लागि १४ वर्ष जेल बसेका दुखा सहनी, गया सहनीको पारिवारिक अवस्था दयनिय छ, उनीहरु अन्यायमा परेको कसैले हेरेका छैनन् ।

    पूर्व मेयर सरावगीको पालामा वीरगन्जको आदर्शनगर मूख्य सडकसँग जोडिएको हजारी मल धर्मशाला गैरकानुनी रुपले कब्जा गर्न लागिएको भन्दै कांग्रेस सभापति द्धिवेदी धर्नामा बसे । पत्रकार सम्मेलन गरि विरोध जनाए । तर, केही दिन पछि उनी हजारी मल धर्मशालाको बारेमा एक शब्द बोलेनन् ।

    वीरगन्जको टाउन हल सर्वासाधारण व्यक्तिले प्रयोग गर्न हैसियत राख्दैनन् । द्धिवेदी निकट रहेका कांग्रेस नेता भोला कलवारले टाउन हल २७ वर्षका लागि लिजमा लिएर नीजि सरह सञ्चालन गर्दै आएका छन् । महानगरमा विपक्षी नेताको रुपमा उनले कहिले पनि सार्वजनिक सम्पक्ति, नागरिकको हितको विषयमा आवाज उठाएनन् ।

    तर, अहिले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरि प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाले गरेको गठबन्धनको विरुद्धमा द्धिवेदी बागी बनेका छन् । ३ दशक सत्तामा रहेका द्धिवेदीले यसपाली टिकट नपाएको भन्दै आफूसँग विभेद र अन्यायको नारा दिँदा पुराना कांग्रेसीहरु छक्क परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs