चुनावपछि एकीकृत समाजवादी पार्टी नामको खुद्रा पसल बन्द हुने : पूर्वमन्त्री विष्ट

  • कालिका खवर
  • शनिबार, कार्तिक १९, २०७९
  • नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले आगामी निर्वाचनपछि नेकपा एकीकृत समाजवादी पार्टी नामको खुद्रा पसल बन्द हुने प्रतिक्रिया दिएका छन्।

    शुक्रबार बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै विष्टले नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनको भरमा केहि स्थानमा भाग पाएर अहिलेको चुनावमा उम्मेदवारी दिएपनि चुनावपछि उक्त पार्टीको भविष्य नभएको दाबी गरे।

    गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका विष्टले कुनैपनि राजनीतिक दलभित्र नेता र कार्यकर्ताबीच सामान्य विवाद र अन्तरविरोध हुनु सामान्य भएपनि त्यही अन्तरविरोधका कारण पार्टी विभाजित गरिनु गलत भएको टिप्पणी गरे।

    ‘पार्टीभित्र विवाद र अन्तरविरोध हुनु स्वभाविक हो तर, छलफलबाट विवाद र अन्तरविरोधलाई समाधान गर्नुको साटो पार्टीलाई विभाजित गरिनु गलत हो त्यसको जवाफ निर्वाचनपछि जनताले दिने छन्,’ उनले भने।

    विष्टले गुल्मी क्षेत्र नं. २ मा यसअघि पार्टी छोडेर अन्यत्र लागेकाहरू एमालेमा फर्किने क्रम बढ्दै गएको भन्दै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी समेत कोहि नभएको दावी गरे।

    ‘नेकपा एमालेले लोकतन्त्र स्थापना, संविधान निर्माण, राष्ट्र र राष्ट्रियताको रक्षा तथा जनजिविकाको सवालमा लिएको बाटो तथा मैले विगतमा गुल्मीबाट प्रधिनिधित्व गरेपछि त्यहाँ गरेका विकास निर्माणका प्रयासहरूका कारण मेरो प्रतिस्पर्धी कोहि छैन,’ उनले भने।

    गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीप्रति लक्षित गर्दै विष्टले गत स्थानीय तहको निर्वाचनमा क्षेत्रभरी नै ५ सय ६७ मत ल्याएको पार्टीसँग आफ्नो कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारे।

    विष्टले आफू विगतमा उक्त क्षेत्रबाट निर्वाचित भएपछि सडक, पुलपुलेसा, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी जस्ता क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै बाँकी रहेका केहि काम पुरा गर्ने जिम्मेवारीसहित जनताको घरघरमा पुगेको बताए।

    ‘म पहिलो पटक गुल्मीबाट निर्वाचित हुँदा सडक कालोपत्रे थिएनन्, कुनैपनि खोलाहरूमा पक्की पुल थिएनन्, खानेपानीको चरम अभाव थियो, विद्यालय र स्वास्थ्य चौकीका भवन थिएनन्, अहिले अधिकांश सडक कालोपत्रे गरिएका छन्, खोलाहरूमा पक्की पुल बनेका छन्, ७० प्रतिशत घरमा खानेपानीका धारा पुगेका छन्, प्रत्येक वडामा विद्यालय र स्वास्थ्य चौकी स्थापना गरिएका छन्,’ उनले भने।

    विष्टले अझै पनि व्यवस्थित र दिगो विकास योजनासहित युवा रोजगारी तथा श्रमिकहरूको सुरक्षाका योजना आफ्ना मुख्य एजेण्डा रहेको बताए।

    विष्टले सामाजिक सुरक्षा कोष मार्फत श्रमिकहरूलाई सुरक्षाको आधार प्रदान गर्ने र युवाहरूलाई रोजगारी प्रदान गर्ने कामको सुरूवात आफ्नै पहल र अगुवाईमा गरिएको दावी गर्दै अब ती कामहरूलाई व्यापकता बनाउने रहेको बताए।

    आफू ५ वर्षसम्म सांसद हुँदा एकपटक जिल्ला नसम्झिनेहरू अहिले जिल्लाका सबै विकासका काम आफूले गरेको भन्दै झुठो प्रचार गरेको उल्लेख गर्दै विष्टले गुल्मीका जनतालाई विगतमा कस्ले के गर्‍यो भन्ने राम्रोसँग हेक्का रहेको बताए।

    नेता विष्टले राष्ट्र र राष्ट्रियताको जगेर्ना, जनताको स्वाधिनता र आत्मसम्मान जोगाउँदै गरिबी तथा बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सोही अनुसार पार्टी र उम्मेदवारलाई छनोट गर्न मतदाताहरूलाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs