स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

  • कालिका खवर
  • शनिबार, कार्तिक १९, २०७९
  • आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन् । मतदाताका घर आँगनमा पुगेर उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् ।

    यसै क्रममा काठमाडौँको क्षेत्र नं ९ का उम्मेदवारले पनि मतदातासँग मत मागिरहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सो क्षेत्रका उम्मेदवार कल्पना धमला र प्रदेशसभातर्फ २ का उम्मेदवार श्यामकृष्ण खड्काले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकमा मतदातासँग मत मागेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको महिला परिचालन तथा समन्वय समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक वडास्तरीय महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार धमलाले संविधानको रक्षा र विकास तथा समृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ आफूहरु निर्वाचनको मैदानमा उत्रिएको बताउनुभयो । उहाँले जनताको मतको दुरुपयोग नगर्ने, संविधानविपरीत गएर कुनै पनि काम नगर्ने, भ्रष्टाचार नगर्ने तथा जनताको दुःखसुखमा साथ दिने दृढता व्यक्त गर्नुभयो ।

    नेकपा (माओवादी केन्द्र)का नेत्रीसमेत रहनुभएका उम्मेदवार धमलाले नेपाली जनताको शिर निहुराउने खालका कुनै पनि काम नगर्ने तथा आफू यही क्षेत्रको भएकाले कुनै अविश्वास नगर्न आग्रह गर्नुभयो । उम्मेदवार धमलाले ६० वर्ष पुगेपछि आफू कुनै पनि कार्यकारी पदमा नबस्ने उल्लेख गर्दै विपक्षी उम्मेदवारभन्दा आफूले देश र जनताका पक्षमा धेरै सङ्घर्ष गरेको कुरा मतदाताले जानकारी पाएको बताउनुभयो । कार्यक्रममा प्रदेशसभातर्फ २ का उम्मेदवार खड्काले वाम लोकतान्त्रिक गठबन्धनले मुलुकको दिगो हित र दीर्घकालीन लक्ष्य राखेकाले पराजित हुने छुट नभएको बताउनुभयो । सो अवसरमा गठबन्धनका उम्मेदवारले सडक, पर्यटन तथा सिपमूलक रोजगारी तथा उद्यमशिलताको विकासका सन्दर्भमा आआफ्ना एजेण्डा प्रस्तुत गर्नुभएको थियो । सो क्षेत्रमा नेकपा(एमाले)का तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs