संस्कारले गर्यो देउसी भैलोको पैसाले सेनिटरी प्याड तथा डस्टबिन वितरण

  • कालिका खवर
  • शुक्रबार, मंसिर २, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालले आफ्नो नियमित श्रृङ्खलाका क्रममा देउसी भैलोको पैसाबाट विद्यार्थीहरुलाई सेनिटरी प्याड र विद्यालयलाई डस्टविन वितरण गरेको छ ।
    २०७९ सालको तिहारका अवसरमा संस्थाद्धारा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा उठेको रकमबाट संस्थाको विशेष कार्यक्रम ‘स्कूल स्कूलमा असल संस्कार’ अन्तर्गत बिहीबार रानीबारीमा रहेको रानीदेवी आधारभूत विद्यालयलाई उक्त सामग्री प्रदान गरेको हो ।
    कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा सदस्य प्रवेश श्रेष्ठ र अध्यक्ष पशुपति गुरुङले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक रामजी गौतमलाई सेनिटरी प्याड तथा डस्टविनहरु प्रदान गर्नु भएको थियो ।
    कार्यक्रममा बोल्दै संस्कार समाज नेपालका अध्यक्ष तथा प्रमुख अभियन्ता पशुपति गुरुङले असल संस्कारको बीजारोपण विद्यालयमा गर्नु पर्छ भन्दै अभियानमा जोडिदै गएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष गुरुङले स्वास्थ्य सबैभन्दा ठूलो धन हो, स्वस्थ्य रह्यौं भने जे पनि गरेर खान सकिन्छ भन्दै वातावरण स्वस्थ मात्रा स्वस्थ्य भएर नहुने मानसिक र व्यवहार पनि स्वस्थ बनाउ भन्ने अभियान लिएर हिडेको बताउनु भयो । देश समृद्ध बनाउदै हामी हिडिरहेका छौं, तर समृद्धिको पहिलो आधार भनेकै असल संस्कार भएको भन्दै विद्यार्थी भाईबहिनीहरुलाई असल कुरामा लाग्न, आफ्नो खराब बानी, व्यवहारमा सुधार ल्याउन आग्रह गर्नु भयो । विद्यार्थीहरुलाई संस्कार समाज नेपालले प्रचार, प्रसार गर्ने ‘असल संस्कार सिकौं, सिकाऔं, आफ्नो देश, आफै बनाऔं, असल संस्कार नै समृद्धिको आधार हो, कर तिर्नु पर्छ, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्छ, ट्राफिक नियमको पालना गर्नु पर्छ जस्ता सन्देशमूलक सामग्रीहरुमाथि विद्यार्थीहरुलाई सूसुचित गराउनु भएको थियो । विद्यार्थीहरुले प्लेकार्डमा हेरेर ती सन्देशमूलक सामग्रीहरु एक साथ बाचनसमेत गरेका थिए ।
    विद्यालयका प्रधानाध्यापक रामजी गौतमले सामग्री ग्रहण गरेसँगै संस्कार समाज नेपालले गरेको अभियानको प्रशंसा गर्नु भयो । केही समय अघि सरकारले सेनिटरी प्याड बाँडेको तर, कोभिडका कारण लामो समयसम्म रहेर बिग्रने अवस्था भएको, अहिले सरकारले प्याड नदिदा विद्यार्थीहरुले समस्या भोगिरहेकोमा संस्कार समाज नेपालले दिएको प्याडले विद्यार्थीहरुलाई ठूलो राहत मिल्ने बताउनु भयो । समस्या भएको अवस्थामा संस्थाका तर्फबाट सामग्री प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामि दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गर्नु भयो ।
    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रवेश श्रेष्ठले संस्कार समाज नेपालले समाजमा हुने हरेक अप्ठ्याराहरुमा हातेमालो गर्दै अगाडि बढिरहेकोमा आफूलाई खुशी लाग्ने गरेको बताउनु भयो । विगत ६ वर्षदेखि सडकमा सरसफाई कार्यक्रमदेखि नै संघर्ष गर्दै आइरहेको भन्दै महानगरपालिकासँग समेत सहकार्य गरेर अन्य कार्यक्रमहरु गर्ने बताउनु भयो । प्रमुख अतिथि श्रेष्ठले भन्नु भयो ‘पशुपति गुरुङ अत्यन्त, दयालु, सहयोगी, भलाद्मी हुनुहुन्छ । उहाँले कहाँ, के, कसरी सहयोग गर्नु पर्छ भन्ने कुरा जान्नु भएको छ र गर्दै आइरहने भएको छ । हामी सधैं पशुपति गुरुङको साथमा छौं ।’
    कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका र संस्कार समाज नेपालका अभियन्ताहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs