त्रिशूली अस्पताल देशभरको उत्कृष्ट अस्पताल

  • कालिका खवर
  • शनिबार, पुस ३०, २०७९
  • न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनको आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो । “अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, विद्यमान जनशक्ति, अस्पतालको सुशासन तथा पारदर्शितालगायत विज्ञ टोलीको अनुगमनको आधारमा यसवर्ष ९६ प्रतिशत अङ्क प्राप्त भएको छ”, अस्पतालका मेसु डा पाण्डेले भन्नुभयो, “शतप्रतिशत पु¥याउने भए पनि अझै केही सुधार गर्न विज्ञबाट दिएको सुझाव तथा निर्देशनको पालना गरेर आगामी वर्ष उक्त लक्ष्य पूरा गर्नेछौँ ।”

    यसअघि त्रिशूली अस्पताल आर्थिक वर्ष २०७७/७८ मा ८८ प्रतिशत र २०७८/७९ मा ९४ प्रतिशत अङ्क ल्याएर देशभरमा सर्वोकृष्ट अस्पताल घोषित भएको थियो । विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिएको अस्पतालका अध्यक्ष राजु पण्डितले प्रतिबद्धता जनाउनुभयो ।

    विज्ञ टोलीले अस्पतालको शुक्रबार अनुगमन पश्चात आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो । अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्डमा यो वर्ष बर्दिया जिल्ला अस्पताल ९५ प्रतिशत अङ्कसहित दोस्रो र धादिङ अस्पताल ९३ प्रतिशत अङ्कसहित तेस्रो भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs