नयाँ नागरिकता लिएका लामिछाने फेरि गृहमन्त्रीमा फर्कने तयारीमा,

  • कालिका खवर
  • सोमवार, माघ १६, २०७९
  • काठमाण्डाै – सर्वोच्च अदालतको आदेशअनुसार नयाँ नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा फर्कने पहल थाल्नुभएको छ ।

    हिजो नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्किएलगत्तै  राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई फेरि सरकारको पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने निर्णय गरेको छ । उहाँलाई तत्कालै सरकारको पुरानै जिम्मेवारीमा फर्काउने या नफर्काउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो कुराकानी भए पनि निर्णय भइसकेको छैन ।

    शुक्रवार सर्वोच्च अदालतले पुरानो नागरिकतालाई मान्यता नदिएपछि लामिछानेले हिजो काठमाण्डौ जिल्ला प्रशासनबाट नागरिकता लिनुभएको छ । नयाँ नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्केलगत्तै हिजो बालुवाटार पुगेका लामिछानेले आफूलाई पुनर्बहाली गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गर्नुभएको छ । तर नागरिकता मुद्दा सल्टिए पनि पुरानै नागरिकताका आधारमा राहदानी लिएकोबारे लामिछानेमाथि प्रहरी अनुसन्धान कायमै छ ।

    लामिछानेले नयाँ नागरिकता लिएसँगै राहदानी विभाग पुगेर पुरानो नागरिकताका आधारमा लिएको राहदानी फिर्ता गरिसक्नुभएको छ । राहदानीको विवाद सुल्झिएपछि मात्रै पुरानो जिम्मेवारीमा फर्कन दबाब भए पनि लामिछाने तत्कालै उपप्रधान र गृहमन्त्रीको जिम्मेवारीमा फर्कने तयारीमा हुनुहुन्छ ।

    लामिछानेले नागरिकताको मुद्दा मिलेको र केही दिनमै राहदानीको विषय पनि सल्टाउने विश्वास दिलाउन खोज्नुभएको छ । यसबारे ओली र प्रचण्डबीच थप छलफल भएपछि मात्रै निर्णय हुनेछ । अदालतको आदेशपछि नयाँ नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितवन क्षेत्र नम्बर २ बाट उपचुनाव जितेर आउने योजनामा हुनुहुन्छ । उपचुनाव कहिले हुन्छ भन्ने चाहिँ यकिन भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs