अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला

  • कालिका खवर
  • बिहिबार, माघ १९, २०७९
  • कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताउनुभयो । स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउन छ महिला सामूहिकरुपमा लागेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताउनुभयो । “हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौँ । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यहीँ सीपलाई व्यवसायमा जोडेका हौँ”, उहाँले भन्नुभयो । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उहाँले बताउनुभयो । वाार्षिकरुपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । “आफ्नो कमाइ नहुँदा घरका श्रीमान्सँग आश्रित हुनुपर्ने थियो । अहिले त्यो बाध्यता हटेको छ”, भट्टराई भन्नुहुन्छ । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उहाँले जनाउनुभयो । बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत सहरमा हुने गरेको छ । जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दोे छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ । उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ । उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ । सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताउनुभयो । आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उहाँको सुझाव छ । “हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ”, उहाँले भन्नुभयो । ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई रु एक सयसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य रु दुई सय ५० सम्म पर्छ । उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाउनुभयो । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उहाँले बताउनुभयो । आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । “उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौँ । महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौँ, अब त्यहीँ उद्योगले अचार लैजाने आशामा छौँ, उहाँले भन्नुभयो । महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ । नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरुपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताउनुभयो । “सिधै बजेट दिएका छैनौँ, तालिममार्फत सहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs