निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

  • कालिका खवर
  • शुक्रबार, माघ २०, २०७९
  • जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ ।

    सडकमै सवारी साधनको पार्किङले पनि बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ । सदरमुकाममा रहेका कुनै पनि सरकारी कार्यालयभित्र सेवाग्राहीले पार्किङको सुविधा पाउँदैनन् ।

    जिल्ला प्रशासन कार्यालयलगायत सबै कार्यालयमा काम गर्ने कर्मचारीको मात्रै सवारी साधन कार्यालय परिसरमा राखेपछि गेट बन्द गरिन्छ । कार्यालयले सेवाग्राहीका सवारी साधन पार्किङ गर्न अनुमति दिँदैनन् ।

    यहाँका कार्यालयमा मानिस छिर्ने ठाउँ राखेर ढोका बन्द गर्ने चलन वर्षांैदेखि छ । सदरमुकाममा रहेका ठूला सप्लायर्सका ढुवानी गर्ने ट्रकले कार्यालय, विद्यालय समय हेर्दैनन् । सडक नै जाम हुनेगरी जुनकसुकै बेला बजार प्रवेश गर्छन् । साँघुरो सडक नै जाम हुनेगरी आउने ठूला ट्रकले अन्य सवारी आवागमनमा बाधा पु¥याउँदै आएका छन् ।

    पार्किङस्थलको अभावमा सवारी साधन सडक छेउमै पार्किङ गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । सहरोन्मुख दश पालिका मुकाममा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । जिम्मेवारी पाएको ट्राफिक प्रहरी कार्यालयसँग १५ जनाको मात्रै दरबन्दी छ । सदरमुकाम बागलुङ बजारकै बग्रेल्ती समस्या समाधानमा मात्रै आठ÷नौजना चाहिन्छन् ।

    बाँकी जनशक्तिले जिल्लाका सबै क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले बताउनुभयो । सदरमुकाम आउने रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्नेदेखि क्षमताभन्दा धेरै यात्रु बोक्ने समस्यामा प्रहरीको नजर पुगेको छ ।

    “जिल्लामा पार्किङदेखि साँघुरा सडकको समस्या रहेछ, सबै समुदायको साथ नहुने हो भने ट्राफिकले मात्रै समस्या सुल्झाउन सक्दैन्”, खड्का भन्नुहुन्छ, “दुर्घटना भए ट्राफिकको कमजोरी देखिन्छ ।

    ” दुर्घटना हुन नदिनका लागि सबैको भूमिका हुनुपर्ने उहाँले बताउनुभयो । दुर्घटनाको उद्धारका बेला प्रयोग हुने एम्बुलेन्सको भाडासमेत महँगो पर्दा त्यसको भार ट्राफिक प्रहरीको जिम्मामा आएको उहाँको भनाइ छ ।

    सदरमुकामको ट्राफिक व्यवस्थापनका लागि यसअघि प्रहरी र बागलुङ नगरपालिकाले प्रयास गरेको भए पनि ती प्रयास सफल हुन सकेका छैनन् । ट्राफिकले एकतर्फी पार्किङ निषेधको व्यवस्थापन गरेर चार वर्षदेखि बजार व्यवस्थापनको प्रयास भने गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs