आइएफआरसीका महासचिव चापागाईँ नेपालमा

  • कालिका खवर
  • शनिबार, माघ २१, २०७९
  • रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गर्नुभयो । सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव पदमा चयन गरेको थियो ।

    सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गर्नुभएको थियो । आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुनुहुन्छ । महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापि सहयोग निरन्तर जारी रहेको बताउनुभयो । “विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटासन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ”, उहाँले भन्नुभयो । आइएफआरसी मानवीय सेवाका क्षेत्रमा कार्यरत सर्वाेच्च परोपकारी संस्था हो । भ्रमणका क्रममा महासचिव चापागाईंले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिनुहुने यहाँस्थित आइएफआरसीले जनाएको छ ।

    उहाँ आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुने छ । साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुहुने छ । भ्रमणका क्रममा चापागाईँले राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पु¥याउने गर्दछ । कोभिड–१९ बाट उत्पन्न विश्वव्यापि आर्थिक मन्दिका बाबाजुद पनि महासचिव चापागाईँले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पु¥याउन निर्वाह गर्नुभएको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।

    विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनुका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs