भ्रष्टाचारविरुद्ध कलम चलाउनुहोस् : स्वास्थ्यमन्त्री गिरि

  • कालिका खवर
  • आइतवार, माघ २२, २०७९
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो “तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस् ।” अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उहाँले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताउनुभयो । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताउनुभयो । “भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ”, उहाँले भन्नुभयो, “विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ ।” देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताउनुभयो । परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उहाँले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताउनुभयो । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उहाँको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइ राख्न पत्रकारलाई आग्रह गर्नुभयो । सो अबसरमा डा. सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रू २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs