
कास्की । वरिष्ठ समाजसेवी पशुपति गुरुङद्धारा स्थापना गरिएको अक्षयकोषबाट मेश्रम बराह मा.बि.का गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई रु. ५०,०००/- को शैक्षिक सहयोग हस्तान्तरण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न विद्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रमका बीच उक्त सहयोग विद्यार्थीहरुलाई प्रदान गरिएको प्रधानध्यापक यमप्रसाद भण्डारीले बताउनु भयो ।
विद्यालयका संस्थापक स्व. लक्ष्मण गुरुङकी नातिनी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले शिक्षामा आफ्ना अभिभावकहरुले अवलम्वन गरेको संस्कारलाई निरन्तरता दिदै आफूले माध्यमिक तहसम्मको अध्ययनसमेत गरेको उक्त विद्यालयमा आफ्नो नाममा उक्त अक्षयकोष स्थापना गर्नु भएको हो । रु. ५ लाखको अक्षयकोष स्थापना गर्नु भएकी गुरुङले आर्थिक अभावमा कसैले शिक्षा ग्रहण गर्ने अधिकारबाट बञ्चित नहोस् भन्ने उदेश्यले उक्त अक्षयकोष स्थापना गरेको बताउनु भयो ।