
काठमाडौं । त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा यहि चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
यो निर्वाचनमा नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा समाजवादी निकटको अनेरास्ववियू, माओवादी निकटको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन अहिले मैदानमा छन् । विसं २०७३ मा उपत्यकाका नौ क्याम्पस र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । त्यसपछि कुनै पनि क्याम्पसमा स्वयियु निर्वाचन हुन सकेको थिएन ।
स्ववियु निर्वाचनको इतिहासमा कहिल्यै दोस्रो नभएको अनेरास्ववियु यो पटक पनि इतिहासको विरासत जोगाउने प्रयासमा लागेको छ । अहिले मुलुकको राजनीतिकको धेर–थोर तरंग विद्यार्थी संगठनमा पनि देखिने भएकाले धेरै क्याम्पसहरुमा राष्ट्रिय राजनीतिको गठबन्धन जस्तै गठबन्धन बनाएर स्ववियु निर्वाचनमा होमिएको अवस्था छ ।
धेरै क्याम्पसहरुमा नेविसंघ, अखिल क्रान्तिकारी तथा नेकपा एस निकट अनेरास्ववियु लगायत ५ संगठनको गठबन्धन बनेको छ भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ । अहिलेसम्म पचास हाराहारी क्याम्पसमा सर्वसम्मत नेतृत्व छनोट भएको छ ।
मुलुकभरी नै निर्वाचनको माहोल तातिरहेका बेला उपत्यकाको चुनावी महोल झन् व्यापक बनेको छ । अझ आंगिक क्याम्पसको माहोल थप सशक्त बनेको छ । धेरै क्याम्पसहरुमा पार्टीका नेताहरु नै सक्रिय भएर लागेका छन् । उपत्यकाका आंगिक क्याम्पसहरु मध्ये पब्लिक युथ क्याम्पस ब्यवस्थापन संकायको पठन–पाठन हुने ठुला क्याम्पसमा पर्दछ ।
मुलुकभरी नै २०६५ देखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन । त्यस्तै पब्लिक युथ क्याम्पस, धोबिचौरमा पनि ०६५ देखि स्वयियु भएको छैन । अहिले यो क्याम्पसको पनि चुनावी माहोल व्यापक बनेको छ । यो क्याम्पसमा अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ भने नेविसंघ र नेकपा समाजवादी निकटको अनेरास्ववियु प्यानलसहित चुनावी मैदानमा छ । अखिल क्रान्तिकारी पनि एक्लै चुनावी मैदानमा छ । यो क्याम्पसको स्ववियु निर्वाचनको इतिहास हेर्ने हो भने २०३६ सालमा मात्र अनेरास्ववियुले स्वयियु जितेको थियो । त्यस एताका सबै निर्वाचनमा अनेरास्ववियुले आफ्नो उपस्थिति समेत देखाउन सकेन ।
तर यस पटक अनेरास्ववियु प्यानल सहित सम्पुर्ण पदमा जित हासिल गर्ने रणनीतिमा छ । यो पटक अनेरास्ववियुले लक्ष्मण दुलाललाई अध्यक्षको उम्मेदवार बनाएको छ । सचिवमा निराजन कुमार शाहि र कोषाध्यक्षमा प्रेम राज पनेरुलाई उठाएको छ । त्यस्तै सदस्यहरुमा सुनिल थापा, अमन ढकाल, लक्ष्मी कुमारी घिमिरे, सुनिल भट्टराई , अनुप नेपाल, जुद्द बहादुर बि.क., आशुतोष कुवर र नरेस भण्डारी आदित्य लाई अनेरास्ववियुले उमेदवार बनाएको छ ।
४१०० हाराहारी विध्यार्थी रहेको एस क्याम्पसमा अनेरास्ववियुको जित निश्चित रहेको अनेरास्ववियुका स्थाइ कमिटी सदस्य अमित महरले बताउनु भयो । अनेरास्वयिुको तर्फबाट अध्यक्षका उम्मेदवार दुलाल पनि निर्वाचन जित्नेमा आफू ढुक्क रहेको बताउनुहुन्छ । अन्य विद्यार्थी संगठनको तुलनामा आफ्नो एजेण्डा बलियो भएको भन्दै दुलालले निर्वाचन जित्ने र सुधारको अभियान सशक्त रुपले चलाउने बताउनुभयो ।
नेविसंघले नवीन पाण्डेलाई सभापतिमा उठाएको छ भने अखिल क्रान्तिकारीले गौरव सेढाईलाई सभापतिको उम्मेद्बार बनाएको छ । त्यस्तै अखिल क्रान्तिकारीबाट बिद्रोह गरी अखिल क्रान्तिकारीका अध्यक्ष बिनोद शाही पनि सभापति को उमेदवार बनेका छ्न ।