
कास्की । संस्कार समाज नेपालको पाँचौ बार्षिकोत्सव कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
पोखरामा रहेको रोयल दिदी बहिनी किचनमा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वति गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाले समाजका तीन उदाहरणीय ब्यक्तित्वहरूलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय सरस्वति गुरूङले संस्कार समाजको गतिबिधीहरू समाजका लागि अति सान्दर्भिक रहेको बताउदै गण्डकी प्रदेशमा समाजको अभियानलाई जोड्न अनुरोध गर्दै प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्वतासमेत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै सभापति तथा संस्थाका अध्यक्ष पशुपति गुरूङले आचरण सुधार्ने अभियानमा सबैको साथ, सहयोग पाएकोप्रति खुशि ब्यक्त गर्दै अभियानमा जोडिन आग्रह गर्नु भयो । ब्यक्तिका साना साना ब्यवहारहरूले समाज र राष्ट्रलाई ठुलो असर गर्ने बताउदै प्रत्येक ब्यक्तिले आफ्नो कर्तब्यलाई पालना गर्ने र इमान्दारितापूर्वक आफ्नो काम गर्ने हो भने देशको आधा समस्या समाधान हुने बताउनु भयो ।
कार्यक्रमबाट समाजसेवी तथा व्यबसायि हिमानी गुरूङ, चन्द्रावति गुरूङ र कवि अमृतलाई नगद दश हजार राशिसहितको ´संस्कार-चिसकुमारी गुरूङ स्मृति समाजसेवा पुरस्कार-२०७९` प्रदान गरियो ।
कार्यक्रममा संस्कार समाजको कार्यलाई प्रशंसा गर्दै समाजसेवी अगम गुरूङ, बिष्णु गुरूङ र सुरज गुरूङले शुभकामना ब्यक्त गर्नु भएको थियो भने कवि मदन घिमिरेले संस्कारसँग सम्बन्धित कविता वाचन गर्नु भएको थियो ।
सचिव प्रकाश समीरले संचालन गर्नु भएको कार्यक्रममा आजीवन सदस्य फुर्वा मुक्तानले धन्यवाद मन्तब्यसहित सभा बिसर्जन गर्नु भयो ।
संस्थाका प्रमुख अभियन्ता तथा संस्थापक अध्यक्ष पशुपति गुरूङको सम्मानमा संस्थाले उहाँकै जन्मदिनका दिन बार्षिकोत्सव मनाउदै आएको छ ।