वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

  • कालिका खवर
  • शनिबार, चैत्र ४, २०७९
  • सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ । हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो । छाडा कुकुरलाई दैनिक सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिनुभयो ।

    गत मङ्गलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत आजसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो । पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने उहाँको भनाइ छ । वीरगञ्जमा छाडा कुकुरको सङ्ख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । कुकुरको सङ्ख्या दैनिकरुपमा बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने नगरप्रमुख सिंहको विश्वास छ । छाडा कुकुरको आतङ्कलाई रोक्न केही दिनअघि महानगरपालिकाले कुकुर मार्ने अभियान चलाएको थियो तर अधिकारकर्मीले कुकुर मार्ने अभियानविरुद्ध आन्दोलन सुरु गरेपछि महानगरपालिकाले मार्ने अभियानको साटो बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान चलाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs