दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री दाहाल

  • कालिका खवर
  • मङ्लबार, चैत्र ७, २०७९
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् ।

    मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताए ।

    आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले दलित समुदायका माग र मुद्दाहरुको सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक अरुले गर्न नसक्ने पनि बताए ।

    “म तपाईँहरुको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहन्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिनेगरी केही घोषणा म गर्दै छु,” उनले भने, “म गर्नेछु । यो विश्वास र प्रतिवद्धता म तपाईँहरुको अगाडि व्यक्त गर्न चाहन्छु ।”

    प्रधानमन्त्रीले दलित समुदायको हक र अधिकारको निम्ति सिंगो राज्य र राज्यका निकायहरु जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए । उनले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताए ।

    त्यस्तै, सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उनको भनाइ छ । यसका निम्ति आवश्यक भूमिका खेल्न सरकार प्रतिवद्ध रहेको उनले बर्ता ।

    “दलित समुदायको वृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिन्छ,” उनले भने, “यसका निम्ति कानुन निर्माण, संशोधन र व्यवस्थापकीय पक्षहरुमा सुधारका निम्ति खेल्नुपर्ने भूमिकाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको कुरा पनि यहाँहरुका अगाडि स्पष्ट गर्न चाहन्छु ।”

    उनले दलित समुदायले आज पाएका संवैधानिक र कानुनी हक, अधिकारहरु जनयुद्धको उपलब्धिको रुपमा आएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs