लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, चैत्र ८, २०७९
  • काठमाडौं :प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ।   झापा, धादिङ,मोरङ,मकवानपुर र सिरहाबाट अवैध लागुऔषधिसहित ९ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा  झापाको दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई, सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् ।

    चोकमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

    धादिङको गजुरी नगरपालिका-६ आदमघाटबाट गाँजा करिब ४ केजीसहित दुईजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

    यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारेको हो।

    मकवानपुरको हेटौडा उपमहानगरपालिका-३ लेवटबाट पनि गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागुऔषधसहित पक्राउ गरेको  हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले  जनाएको छ।

    प्रहरीका अनुसार सिरहाको धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतो पनि पक्राउ परेका छन्।  गाँजा ५ केजी ३ सय ग्रामसहित  मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो सिरहा,ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs