डुब्न लागेको अर्थतन्त्र सुधार गर्ने जिम्मा प्रकाशशरण महतलाई

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौं । २०४८ सालको निर्वाचनमा नुवाकोटबाट डा. रामशरण महतले प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगे ।

    प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नुवाकोटबाट निर्वाचन हारेका डा. महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । त्यो बेला कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको विरोध भए पनि गिरिजाप्रसाद कोइरालाले डा. रामशरण महतलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

    डा. रामशरण महत अर्थमन्त्री बढी बन्ने नेतामा पर्छन् ।  अर्थ राज्यमन्त्रीमा महेश आचार्य भए पनि निजीकरण नीति र उदार अर्थनीतिको वकालत गर्ने कांग्रेस नेतामा डा. रामशरण महतको नाम आउने गर्छ ।

    अहिले अर्थतन्त्र समस्यामा छ । पार्टीभित्र आफ्नै समूहको विरोधका बाबजुद कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अति निकट’ डा. प्रकाशशरण महतलाई पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारमा अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।  कांग्रेसको राजनीतिमा देउवा निकट भएर अवसर पाए पनि प्रकाशशरण महत डा. रामशरण महतका भाइ हुन् ।

    अर्थतन्त्रको क्षेत्रमा उनको परिचय पनि यतिमा सीमित छ ।  डा. प्रकाशरण महत मन्त्री भएर सिंहदरबारको यात्रा प्रवेश गरेको यो चौथो पटक हो । यसअघि परराष्ट्र, ऊर्जा तथा परराष्ट्रराज्य मन्त्री बनिसकेका छन् ।

    प्रतिनिधिसभा निर्वाचनमा पहिलो नम्बरमा समानुपातिक सांसद बनेका उनी अहिलेसम्म समानुपातिकतर्फमात्रै सांसद भएका छन् । महामन्त्रीमा पराजित डा. महत अहिले कांग्रेसको प्रवक्तासमेत हुन् । अर्थतन्त्र समस्या परेको बेला यो बारेमा बुझेको नेताको खाचो हो ।

    पढाइको हिसाबले प्रकाशशरण महतमा त्यो योग्यता छ । देउवा गुटभित्र अर्थशास्त्र बुझेको र पढेको व्यक्तिमा नै प्रकाशशरण महत चिनिन्छन् ।  त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमा नै पीएचडी गरेका छन् । तर उनले अहिलेसम्म निजी क्षेत्रलाई आश्वस्त पार्न भने सकेका छैनन् ।

    अहिले अर्थतन्त्रमा निकै ठूलो समस्या छ । अर्थशास्त्र नपढेको र नबुझेको व्यक्तिले समेत अर्थतन्त्रमा भएको समस्याको बारेमा प्रत्यक्ष महसुस गर्न सक्ने अवस्था छ । सामान्य पसलदेखि कर्पोरेट हाउससम्मको व्यापार अहिले चौपट छ ।

    बैंकले ऋण उठाउन सक्ने अवस्था छैन, ब्याजदरप्रति असन्तुष्ट समूह आन्दोलनमा छन् । विकसित देशमा पलायन हुने युवाको संख्या बढ्न थालेको छ ।

    अर्थमन्त्री डा. प्रकाशरण महतको लागि राजनीतिमा केही गरेर देखाउने अवसर अहिले आएको छ । अर्थतन्त्रमा अहिले पहिलो समस्या व्यापार व्यवसाय तथा उद्यम गर्नेको लागि विश्वास जगाउने काम हो ।

    जसको पहिलो सुरुवात सेयर बजारबाट नै हुन्छ । जुन सेयर बजार प्रकाशशरण महत मन्त्री बन्दा खासै उत्साहित भएको छैन ।  जबकि दाइ डा. रामशरण अर्थमन्त्री बन्दा सबैभन्दा उत्साहित सेयर बजारका लगानीकर्ता नै हुने गरेका थिए ।

    कोभिड अगाडिदेखि नै अर्थतन्त्रमा समस्या थियो । कोभिडको समयमा राष्ट्र बैंकले दिएको सहुलियतले व्यवसायमा देखिने गरेर प्रभाव परेन ।

    सहुलियत हटाउँदै जाने र ब्याजदर बढाउने नीतिले अहिले बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक रुपमा अर्थतन्त्र समस्या छ । सेयर बजारबाट सुरु भएको संकट घरजग्गा हुँदै सामान्य व्यवसायमा समेत परेको छ ।

    त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढ्दा प्रकाशरण महतका सहपाठी समेत रहेका विश्लेषक पुरञ्जन आचार्य पढाइ र ज्ञानको हिसाबले अर्थमन्त्रीको रुपमा महतलाई कांग्रेसले पठाउनु उपयुक्त निर्णय भएको बताउँछन् ।

    “अहिलेको समयमा अर्थतन्त्रमा भएको समस्याको सैद्धान्तिक ज्ञान महतमा छ,” आचार्यले भने, “व्यवहारिक रुपमा समस्याको समाधान गर्लान् भन्ने अपेक्षा गरौं, नभए डुब्न लागेको अर्थतन्त्रले महतसँगै देशलाई समेत डुबाउने छ ।” अर्थतन्त्रमा भएको समस्याको कारण पहिलो पटक ५५ वर्षमा सरकारको राजस्व गतवर्षको तुलनामा घटेको छ ।

    जनसंख्याको बढ्दो असन्तुलनले सामाजिक सुरक्षामा हुने खर्च हरेक वर्ष बढ्दो क्रममा छ । राजस्वले चालु खर्च धान्न नै नसक्ने स्थिति देखिएको छ ।

    सरकारले लिएको ऋणको दायित्व हरेक वर्ष बढ्दो क्रममा रहेको छ । सरकारले बजेट सार्वजनिक गर्दा ठूलो आकारको गर्ने र त्यसको स्रोतको बारेमा गहन रुपले नहेर्ने नीति छ ।

    चालु खर्चको दायित्व थप्दा घाटाको बजेट बढ्दो क्रममा छ । सुरुवातमा अर्थमन्त्री महतले लगानीकर्तालाई विश्वास बढाएर अर्थतन्त्रमा सुधारको नीति लिनुपर्ने छ ।

    पहिलो चरणको सुधारको नीति प्रकाशरणका दाई रामशरणले लिएका थिए ।  सुधारको नीति ठप्प हुँदा विदेशी लगानी बढ्ने स्थिति छैन ।  सुधारको नीति र विश्वासको वातावरण बनाउने पहिलो दायित्त्व अर्थमन्त्री डा. महतमा आवश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs