अझै तीन दिनसम्म मौसम बदली हुने; काठमाडौंसहित अन्य ठाउँमा वर्षा हुने

  • कालिका खवर
  • आइतवार, बैशाख १७, २०८०
  • काठमाडौं । देशका धेरै स्थानमा आज बिहानैदेखि मौसम बदली भएको छ । धेरै स्थानमा वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा उपत्यकामा पनि केही बेरपछि वर्षा हुने सम्भावना छ । तर, निरन्तर वर्षा नहुने उनले बताए ।

    “देशका धेरै स्थानमा आज वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि केही बेरपछि वर्षा हुने देखिन्छ,” उनले  भने, “तर, निरन्तर परिरहने हुँदैन । केही बेर पर्ने, रोकिने, फेरि पर्ने हुन्छ । मौसम बदली भने दिनभर नै हुने देखिन्छ ।”

    पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभावसँगै अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको उनले जानकारी दिए ।

    उनका अनुसार आज देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिजो पनि देशका केही स्थानमा वर्षा भएको थियो ।

    अबका तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको उनले बताए । भोलि र पर्सिको तुलनामा आज बढी बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

    “बदली तीनसम्म हुने देखिन्छ । आजभन्दा भोलि र पर्सि अलि कम असर हुने देखिन्छ,” उनले भने, “बदली हुँदैमा सबै ठाउँमा वर्षा भइहाल्ने हुँदैन । केही–केही ठाउँमा भने भोलि र पर्सि पनि बेला–बेलामा पानी पर्ने देखिन्छ ।”

    उनका अनुसार भोलि र पर्सि बिहानपख कम र अपराह्नतिर बढी बदली हुने सम्भावना छ । काठमाडौंमा पनि भोलि र पर्सि वर्षा हुने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs