दार्चुला हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, अझै दुईजना बेपत्ता

  • कालिका खवर
  • बिहिबार, बैशाख २१, २०८०
  • खलंगा । दार्चुलाको व्याँस गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो ।

    गएको मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा–छोरा हुन् ।

    “पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलंगा पठाउन सकिने अवस्था छैन,” उनले भने ।

    भारतीय सीमा सुरक्षा बल (एसएसबी)सित समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए । “भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ । शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ,” उनले भने । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।

    हिमपहिरोमा परी अझै दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् ।

    “वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतीक्षामा छौँ,” डीएसपी भट्टले भने, “झन्डै फाँच फिटजति हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ ।”

    सशस्त्र प्रहरी बलको टोलीले मंगलबारदेखि बेपत्ताको खोजी गर्दै आएको छ । खोजीकार्यमा हिमपात र वर्षा बाधक बनेको छ ।

    मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका संकलकको भने ज्यान जोगिएको थियो । उनीहरू सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो ।

    हाल सो क्षेत्रमा यार्सागुम्बा संकलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अरू जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा संकलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनि यार्सागुम्बा संकलन गर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs