
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेको छ ।
ट्रंक रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताए । “काठमाडौँ विमानस्थलमा आइएफआर उडान भइरहेको छ, अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ, आन्तरिकतर्फ उडान डिले भइरहेको छ”, उनले भने ।
कोलम्बोबाट काठमाडौं आएको श्रीलंकन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भएको थियो । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।