दार्चुलाको हिमपहिरो, अझै दुई जना बेपत्ता

  • कालिका खवर
  • शुक्रबार, बैशाख २२, २०८०
  • भारतको निजाङ भन्ने ठाउँमा बाटो अबरुद्ध हुँदा बिहीबार बेलुकीसम्म पनि शव दार्चुला पु¥याउन नसकिएको हो। बाटो खोल्ने काम भइरहेकाले सकेसम्म राति नै सबलाई नेपाल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तर्कराज पाण्डेले बताए।

    बाटो खुल्नासाथ मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाइने सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्मका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए।

    ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलंगा पठाउन सकिने अवस्था छैन,’ उनले भने, ‘भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समन्वय गरी शव पठाउन लागिएको हो। सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसँग समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ।

    तीन दिन बितिसक्दा पनि शव ल्याउन नसकिएकोमा आफन्तजनहरू निकै चिन्ताजनक अवस्थामा रहेका दुहँु गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह बडालले बताए। उनका अनुसार दुहुँ गाउँपालिकाले आफूले सक्ने क्षतिपूर्ति दिने घोषणा गरेको छ। सोही गाउँपालिका ४ स्थायी ठेगाना भएका कमला कँुवर र उनका छोरा प्रविण कुँवरको समेत यस घटनामा परि निधन भएको खबरले गाउँपालिका परिवार स्तब्ध भएको अध्यक्ष बडालले बताए। मृतकहरूको शवलाई त्यताबाट ल्याउन गाउँपालिकाले जिल्ला प्रशासन मार्फत पहल गरिसकेको उनले जनाए। ‘मृत्युको कुनै मूल्य नै हुँदैन। क्षतिपूर्ति नै हुँदैन। यो हाम्रो लागि अति नै दुःखद र मर्माहत हुने घटना हो। मृतक परिवारलाई गाउँपालिकाले उचित राहत प्रदान गर्ने घोषणा गर्दछु’, उनले भने।

    अझै दुई जना बेपत्ता

    हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन्। ‘वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौं,’ डीएसपी भट्टले भने, ‘झण्डै फाँच फिट जति हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ।’ सशस्त्र प्रहरी बलको टोलीले मंगलबारदेखि बेपत्ताको खोजी गर्दै आएको छ। खोजी कार्यमा हिमपात र वर्षाले निकै सताएको छ।

    यार्सा संकलनमा रोक

    हाल सो क्षेत्रमा यार्सागुम्बा संकलनका लागि जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ। पानी रोकिएको छैन। पानी नरोकिएकाले जति बेला पनि हिमपहिरो आउन सक्ने सम्भावना भएकाले उनीहरूलाई सो क्षेत्रमा जान रोक लगाएको प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन्। सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा संकलनका लागि गएका थिए। उनीहरू वैशाखको पहिलो साता गएपछि जेठको अन्तिमतिर सदरमुकाम झर्ने गर्छन्। २ महिनालाई पुग्नेगरी रासनको बन्दोबस्त गरेर आफूहरू जाने गरेको यार्सागुम्बा संकलक हरक सिंह धामीले बताए।

    यार्सा काल बन्दै

    यार्सा टिप्न गएकामध्ये कम्तिमा ५ प्रतिशत मानिसको बर्सेनि ज्यान गएको छ। आफ्नो ज्यानलाई जोखिममा राखेर उनीहरू प्रत्येक वर्ष यार्सा टिप्न जाने गर्छन्। यार्साबाटै उनीहरू घर घडेरीलगायतको व्यापार ब्यवसाय गर्दै आएको स्थानीय बताउँछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs