
काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेका बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिबद्धता जनाए ।
“कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक छ,” उनले भने ।
उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताए । आगामी वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि गर्ने उनको भनाइ छ ।
“तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको छ,” उनले भने ।