भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरिदै

  • कालिका खवर
  • बुधबार, जेष्ठ १०, २०८०
  • काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६जनासहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले आज अदालतमा अभियोगपत्र दर्ता गर्दैछ ।

    दिउसो २ बजेपछि अभियोगपत्र दर्ता गर्न लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई आजसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

    पक्राउ परेकाबाहेक थप १४ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि नेउपानेले आज अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको जानकारी गराएका छन् ।

    प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर निवेदन तयार पारिएको छ । प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    यस प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ ।  सोही कारण आजै निवेदन दर्ताको तयारी गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs