सशस्त्र प्रहरीकै संरक्षणमा बढ्यो तस्करी

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १६, २०८०
  • बीरगंज – पर्साको पश्चिमी ग्रामीण भेगमा पर्ने सबैठवा, धोरे, खेस्रहा, भिस्वा, बुढगाई लगायतका सीमानाकामा सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी भइरहेको छ । अर्थतन्त्र मन्दी छ, राजस्व असुली लक्ष्यअनुसार हुन नसकेको बिषयमा मन्त्री, सचिवदेखि सबैले भाषण गरिरहेका छन् । तर भन्सार नाकाबाट तस्करी नियन्त्रण गर्न भने सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

    भन्सार छली तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा सामानको गलत घोषणा गरी भित्र्याउने क्रम बढेको छ । बीरगंज भन्सार नै सबैभन्दा बढी आयात हुने नाका हो । बीरगंज नाकाबाट ७० प्रतिशत भन्दा बढी आयात हुन्छ । अरु नाकाबाट ३० प्रतिशत मात्र हो । बीरगंज भन्सारबाट राजस्व असुली पनि त्यही अनुसार हुनुपर्ने हो । तर तस्करीका कारण हुन सकेको छैन ।

    अर्थतन्त्रमा भन्सारको महत्वपूर्ण योगदान भए पनि सीमानाकामा हुने तस्करीका कारण लक्ष्य अनुसार राजस्व असुली हुन नसकेको अवस्था छ । सीमामा हुने भन्सार छली नियन्त्रण गर्नुपर्ने दायित्व बोकेको सशस्त्र प्रहरीको बीओपीका इन्चार्जकै संरक्षणमा तस्करीको लाइन चलिरहेको गुनासो छ । बीरगंज भन्सारको प्रमु्खका रुपमा काम गरेका एक सहसचिवले सशस्त्र र नेपाल प्रहरीकै असहयोगका कारण तस्करी नियन्त्रणमा सफल नभएको बताएका थिए ।

    तस्करी नियन्त्रणमा जानका लागि आग्रह गर्दा गाडी बिग्रिएको जवाफ दिने गरेको अनुभव उनले सुनाएका थिए । बीरगंजमा सरुवा हुने सशस्त्रका गणपति, बीओपी इन्चार्जदेखि नेपाल प्रहरीका प्रमुखसम्मले माथिसम्म दररेट बुझाएर जाने भएकाले उनीहरुले त्यो असुलउपर गर्न पनि तस्करीको लाइन चलाउन छुट दिने गरेका छन् ।

    यसैबीच, सशस्त्र प्रहरी बल बिओपी लहावरथकरीका इन्चार्ज डिएसपी केशवराज ओलियाकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर ओलियाले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।

    भारतीय प्रसिद्ध बजार सिक्टासंँग जोडिएको सबैठवा सीमानाकाबाट नेपालतर्फ लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु पिकअप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।

    सबैठवाबाट कुखुराको चल्ला, बजारमा लान तयार बोइलर कुखुरा, खसीबोका र माछा भन्सार छली गरी नेपाल भित्रने गरेको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले भारतको सिक्टामा पिकअपबाट झारेर राति राति मोटरसाइकल र भरियाको माध्यमले सबैठवा नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

    त्यसैगरी, भारतसँग जोडिएका पर्साका सबैठवा नाकाबाट रोगी राँगा, भैँसी तस्करी गरी नेपाल भित्र्याउने गरिएको छ । रोगी राँगा, भैँसीसमेत तस्करी गरी जालिम मियाका छोराले संचालन गरेको जगरनाथपुर पशु हाटबजार र परवानीपुरस्थित हबिब मियाँले सञ्चालन गरेको भैँसी बजारसम्म तस्करहरुले पठाउने गरेका छन् । खुलेआम रोगी राँगा, भैंसी भारतबाट नेपालमा भित्रँदा पनि सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले देखेको नदेख्यै गर्दैआएको छ ।

    त्यस्तै, भारतमा सस्तो र नेपालमा महंगो भएका कारण सख्खर र गहँुको तस्करी खुब बढेको छ । तस्करहरुले सशस्त्र प्रहरीकै सेटिङमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर बीरगंज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।

    उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ । यतिमात्र हैन, ती ठाउँबाट प्रहरीकै मिलोमतोमा लागूऔषधको कारोबार पनि फस्टाएको छ ।

    सीमानाकाबाट भइरहेको तस्करीका बारेमा सशस्त्र प्रहरी बलका डीएसपी ओलियासँग सोध्दा उनले भने–म स्वयं राति राति धोबियाटोलामा खट्ने गरेको र केही दिनअघि १ लाख ५० हजार रुपैयाँ बराबरको औषधि र कपडा पनि बरामद गरिएको छ । कुखुराका चल्लाको तस्करीको बारेमा आफूलाइ कुनै जानकारी पनि छैन र भएको पनि छैन, ओलियाले भने । सशस्त्र प्रहरीको गण नं. १३ का गणपति एसपी सुमन थपलियासँग खुलेआम भइरहेको तस्करीका बारेमा प्रतिक्रियाका लागि फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs