महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपालले २-१ को अग्रता लियो

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ ।

    पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसिया भ्रमणमा छ । तेस्रो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।

    पहिलो ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि कप्तान रुविना क्षेत्री बेल्वासीले सर्वाधिक २७ रन बनाइन् । पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रुविनाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । ज्योति पाण्डेले पनि टोलीका लागि २३ रनको योगदान गरिन् । उनले २४ बलको सामना गरी तीन चौका हिर्काएकी थिइन् । ओपनर सीता रानामगरले ३५ बलको सामना गरी २१ रन जोडिन् । ईन्दू बर्माले ३० बलमा २० रन बनाइन् ।

    ओपनर कविता कुँवर दुई रनमा पेभेलियन फर्किइन् । बिन्दू रावलले अविजित तीन र कविता जोशीले अविजित एक रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । मलेसियाकी बलर निक नुर अतिएलाले दुई तथा आइसा एलिसा र विनिफ्रेड एनले एक÷एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको मलेसियाका लागि माहिराह इजाती ईस्माइलले उत्कृष्ट ब्याटिङ गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ४४ रन बनाइन् । उनले ५४ बलको सामना गरी ६ वटा चौका प्रहार गरिन् ।

    यसदेखि वाहेक ओपनर विनिफ्रेड एनले मात्र मलेसियाका लागि दोहोरो सख्यामा रन बनाउन सकिन् । उनी २० रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । उनले ३८ बलको सामना गरी एक चौका प्रहार गरेकी थिइन् । मलेसियाका अन्य खेलाडीले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । आइना नजवा अब्दुल रहमान नौ रनमा अविजित रहिन् । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले एक÷एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs