प्रचारबाजीभन्दा एक्सनमा जोड दिन बालेनलाई स्वास्थ्यमन्त्रीको सुझाव

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १९, २०८०
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन) लाई प्रचारबाजीभन्दा एक्सनमा जोड दिन सुझाव दिएका छन् ।

    सबैलाई सचेत गराउनुपर्ने कुरामा मात्रै प्रचार गर्न र गोप्य अनुगमन गर्नुपर्ने कामहरूमा पहिल्यै प्रचार नगर्न मन्त्री बस्नेतले आग्रह गरेका छन् ।  अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न वर्गलाई छुट्याउनुपर्ने र निःशुल्क उपचार गर्नुपर्ने विषयमा भइरहेको अनुगमन प्रक्रियालाई जोडेर मन्त्री बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    गत बुधबार मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई भेटेर १० प्रतिशत शैया नछुट्याउने र विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएका थिए । ६८ अस्पतालको सूची बुझाउँदै उनले सात दिनभित्र मन्त्रीले कारबाही नगरे अस्पताल प्रशासन बन्द गराउने समेत बताएका थिए ।

    महानगरको ध्यानाकर्षणपछि मन्त्रालयको टोलीले गरेको अनुगमन र संकलित तथ्यहरूबाट अधिकांश नीजि अस्पतालले १० प्रतिशत शैया नछुट्याएको पाइएको मन्त्री बस्नेतले बताए ।  यसमा गोप्य अनुगमन गर्नुपर्ने भएकाले सञ्चारमाध्यममा प्रचार गर्नुभन्दा गोप्य अनुगमनबाट एक्सन लिनुपर्ने र त्यसमा मेयर बालेनको पनि साथ चाहिने मन्त्री बस्नेतको आशय छ ।

    “अगाडि नै अस्पतालहरूले थाहा पाए फेक डकुमेन्ट बनाउने जोखिम रहन्थ्यो त्यसैले हामी गोप्य रूपमा एक्सन लिन चाहान्थ्यौँ तर उहाँले त्यही दिन फेसबुकमा लेखिदिनुभयो,” मन्त्री बस्नेतले पत्रकार सम्मेलनमा भने ।

    “उहाँ विदेश जानुभयो, उहाँलाई हामीसँगै अनुगमनमा लैजान चाहन्थ्यौँ” मन्त्री बस्नेतले थपे । विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने र शैयाको अवस्थाबारे वेभसाइटमार्फत् सार्वजनिक नगर्ने अस्पताललई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs