गगनलाई देउवाको जवाफ : एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन

  • कालिका खवर
  • शनिबार, जेष्ठ २०, २०८०
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने बताएका हुन् ।

    आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै देउवाले अब युवा पुस्ताकै पालो भएको पनि जिकिर गरे । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले भने, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् ।

    बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’त्यस्तै, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको आरोप लगाए । उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए ।

    उनले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन । बाँकी समय केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली काँग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ । पार्टी लामो इतिहास भएको पार्टी हो । काँग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? तर चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs