नागरिकता विधेयक संशोधन गर्न रास्वपाको माग

  • कालिका खवर
  • आइतवार, जेष्ठ २१, २०८०
  • काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।

    उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर विरोधमा रहेको उल्लेख गरे । उनले भने, ‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेसका ती तमाम नागरिकताविहिन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ । हामी यसको घोर विरोध गर्दछौँ ।’

    उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणीकरणमा जानु नहुने बताए । ‘यो राजनीतिक विषय हो । नेपालको सुरक्षासँग जोडिएको विषय हो । यो मानवअधिकारसँग जोडिएको विषय हो । सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो’ उनले भने,  ‘यसर्थ यो गम्भिर विषयमा संसदमा विशेष काम छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । यसर्थ सरकारले रोकोस् । सरकारले यसलाई संशोधन गरोस् ।’

    उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs