लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • दैलेख – लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा उहाँको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

    उहाँको बिहान दाहसंस्कार गरिएको खत्रीले जानकारी दिनुभयो । राउटेको संस्कार अनुसार शाहीको शवलाई चिहानमा गाडिएको हो । राउटे समुदायमा बाँदर मार्ने जालमा शव गुथेर चिहानमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाउने चलन छ । राउटेको निधन मुल किरिया बस्न नपर्ने र निधन भएको ११–१३ दिनको बीचमा मंगलबार वा शनिबार पारेर सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काट्ने चलन रहि आएको पनि खत्रीले जानकारी दिनुभयो ।

    यस्तै, राउटे समुदायका कोही सदस्यको निधन पछि बसिरहेको बस्ती एक हप्ता भित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काटेर मासु खाइ शुद्ध हुने चलन छ । राउटे समुदायमा अब एक सय ४१ जना मात्र छन् ।

    दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् । उनीहरुले खेतीकिसानी, पठाइलेखाइ गर्न र नागरिकता लिन आफूहरुले नमिल्ने बताउने गरेका छन् । २०६३ सालदेखि राउटे समुदायका सबै जनाले सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि सहजताका लागि गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

    राउटे समुदायको स्वास्थ्य सरसफाइ, खानपिन र सामाजिक जीवन सहजीकरण गर्न राउटे समुदाय बस्ती सरेसँगसँगै हिँड्ने गरी सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । परियोजनापछि राउटे बालबालिकाहरुले अंक र अक्षर लेख्ने, कुनै घाउ अथवा चोटपटक लाग्दा वा बिसञ्चो हुँदा औषधि उपचार गराउने लगायतका सामाजिक जीवनको अभ्यास  गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs