मेडिसिटी अस्पतालमा दुई करोड ६३ लाख ठगी गर्ने तीन कर्मचारी पक्राउ

  • कालिका खवर
  • बुधबार, जेष्ठ २४, २०८०
  • काठमाडौं । मेडिसिटी अस्पतालको सफ्टवेयर प्रयोग गरी ठगी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बुधवार ठगी कार्यमा संलग्न सोही अस्पतालका तीनजना कर्मचारीलाई सार्वजनिक गरेको हो ।

    उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरू दोलखा भिमेश्वर नगरपालिका ४ का राघव सापकोटा, गोदावरी नगरपालिका ११ का २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका ४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल हुन् । उनीहरू मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा कार्यरत थिए ।

    उनीहरूले अस्पतालको सफ्टवेयर प्रयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टरको चार्ज र निर्सङ चार्जसमेतको वास्तविक शुल्क लिइ सफ्टवेयरमा भने कम इन्ट्री गराई ठगी गर्दै आएको खुलेको छ ।

    यसबारे अस्पतालले गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्यादथप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs