बेंसीशहर नगरपालिकाले बजारका अव्यवस्थित र प्रयोगबीहिन तार हटाउन सुरु गर्‍यो

  • कालिका खवर
  • सोमवार, भदौ ४, २०८०
  • लमजुङ । बेंसीसहर बजारक्षेत्रको विद्युत र टेलिफोनका खम्बाहरुमा अव्यवस्थित रुपमा रहेका तारहरु हटाउन थालिएको छ ।
    अव्यवस्थित रुपमा रहेका र प्रयोगमा नरहेका नेटवर्किङ तथा केवलिङहरु हटाउन बेंसीसहर नगरपालिकाले १५ दिने अल्टिमेटम दिएको थियो । यसमा सम्बधित संघसंस्थाले पहिचान गरेका र नगरेका ताहरु हटाउन थालिएको बेंसीशहर नगरपालिकाले जनाएको छ ।
    केवल तारहरु हटाउन बेंसीशहर नगरपालिकाले डोजर प्रयोग गरेको छ । डोजरको बकेटमा चढेर सम्बन्धित प्राविधिकले तार केवलहरु हटाउन थालिएको छ । अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको भन्दै बेंसीशहर नगरपालिकाले साउन ९ गतेदेखि १५ दिनको म्याद दिएर तार केवल हटाउन अल्टिमेटम दिएको थियो ।
    बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरु हटाउने कार्य भइरहेको बताउनुभयो । अव्यवस्थित तारहरु व्यवस्थापनको लागि कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्वन्धित संस्था वा व्यवसायी स्वयं जिम्मेवार हुने भन्दै नगरपालिकाले सूचना जारी गरेको थियो ।
    नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको र १५ दिनको म्याद सकिएपछि नगरपालिकाले तारहरु हटाउन थालिएको बताउनुभयो । उहाँले लमजुङको सदरमुकाम समेत रहेको बेसीसहर बजारमा अव्यवस्थित तारहरुको जालो जताततै रहेको र यसले बजार क्षेत्रलाई कुरुप बनाएको भन्दै अव्यवस्थित तथा प्रयोगमा नरहेका तारहरु हटाउन थालिएको बताउनुभयो ।
    बेंसीशहर बजारमा यसअघि अव्यवस्थित तारहरु हटाउनुपर्नेमा सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा आवाजहरु उठिरहेको थियो । नागरिकले सामाजिक सञ्जालहरुमा समेत अवस्थित र जेलिएको तारहरुले बजार क्षेत्रलाई कुरुप बनाएको भन्दै आवाजहरु उठाएका थिए । नागरिकहरुले दवाव दिन थालेपछि नगरपालिकाले अव्यवस्थित तथा पुराना तारहरु हटाउन सुरु गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs