
उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन लागिएको हो ।
चन्द्रमासअनुसार भदौ महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष साउनशुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.तोयराज नेपाल बताउनुहुन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । गौराको पहिलो पटक व्रत बस्नेले शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।
यस्तै, काठमाण्डौसहित सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास रहेका क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग र कतै तिलको बिरुवा पनि राखेर देविको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देविलाई भदौ कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार व्रत बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो । देविलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ ।