नुवाकोट । नेपालका आकर्षक पर्यटकीय गन्तव्यहरुमध्ये एक हो, रसुवाको धार्मिकस्थल गोसाइँकुण्ड । धेरैको रोजाइमा पर्ने यस कुण्डमा हरेक वर्ष जनै पूर्णिमामा स्नान गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्छ । देश तथा विदेशबाट पनि भक्तजनहरु गोसाइँकुण्ड जाने गर्दछन् ।
विगतमा मोटरबाटो र हवाइ सुविधा नहुँदा तीर्थयात्री हप्तौं लगाएर भए पनि गोसाइँकुण्ड पुग्ने गर्थे । तर, नेपालको संघीय राजधानी काठमाडौं नजिकका नुवाकोट अनि चीनको सीमा जिल्ला रसुवामै पनि विकास हुन थालेपछि गोसाइँकुण्डको यात्रा सहज हुन थालेको छ ।
गोसाइँकुण्ड जान रसुवा सदरमुकाम धुन्चेलगायत ठाउँबाट पनि जान सकिन्छ । तर काठमाडौं र नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै उत्तरी साइटमा रहेको दुप्चेश्वर गाउँपालिकाबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ । गोसाइँकुण्डको यात्रा र गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि गत वर्ष नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले निर्माण गरेको पदमार्ग सञ्चालन भइसकेको छ ।
पदमार्ग भएर अब दुप्चेश्वरबाट एकै दिनमा गोसाइँकुण्ड पुग्न सकिने दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता शंकरबहादुर थापाले जानकारी दिनुभयो । उक्त नुवाकोट-गोसाइँकुण्ड पदमार्ग यूएनडीपी, नेपाल पर्यटन बोर्डको लगानी तथा दुप्चेश्वर पालिकाको सहलगानीमा निर्माण गरिएको हो । यसमा सहकार्यको नेपालको सहकार्य रहेको छ ।
पदमार्ग निर्माणसँगै चालु आर्थिक वर्षको बजेटमा पनि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको अध्यक्ष थापाले बताउनुभयो । दुप्चेश्वरले ‘कृषि, संस्कृति पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार’ नारा अनुसार कार्यक्रमलाई अन्य संघ संस्थाले सहकार्य गरेको पाईन्छ ।
गोसाइँकुण्ड जाने धेरै पदमार्ग तथा बाटोहरु भए पनि छिटो पुग्ने बाटो दुप्चेश्वरको भएको हुँदा दैनिक भक्तजन तथा घुम्न जाने पर्यटनको संख्यामा वृद्धि भएको अध्यक्ष थापाको भनाइ छ । गोसाइँकुण्ड प्रस्थान गर्नेहरुले बाटोमै रहेको दुप्चेश्वर मन्दिरको दर्शन गर्न समेत अवसर मिल्छ ।
दुप्चेश्वर गाउँपालिकाले यस वर्षबाट खुलाएको पदमार्गमार्फत गोसाइँकुण्ड काठमाडौंबाट १२ घण्टामा पुग्न सकिन्छ । काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका पुग्न सडक मार्गबाट साढे दुई घण्टा लाग्छ । पालिकाबाट साढे दुई घण्टामा वडा नम्बर एक घ्याङफेदीको तालु कसेरी पुग्न सकिन्छ । कसेरीबाट ४ घण्टामा फेदी पुगिन्छ भने फेदीबाट ४ घण्टामा सूर्यकुण्ड पुगिन्छ । सूर्य कुण्ड नुवाकोट जिल्लाकै सबैभन्दा अग्लो भूभागमा पर्दछ । सूर्य कुण्डबाट पैदलै ४५ मिनेटमा गोसाइँकुण्ड पुग्न सकिन्छ ।
गोसाइँकुण्ड पुग्ने बाटो धेरै भए पनि सबैभन्दा सहज र छिटो पुग्नेबाटो दुप्चेश्वरको भएको गाउँपालिकाले जनाएको छ । पालिकाको अनुसार पदमार्ग बनाएपछि दुप्चेश्वरबाट गोसाइँकुण्ड जानेको संख्या बढ्दै गइरहेको छ । पदमार्ग यो वर्षबाट सुरु भएको हो । दुप्चेश्वर वडा नम्बर १ घ्याङफेदीबाट एक दिनमै पुगेर आउन सकिने छ ।
दुप्चेश्वरको वडा नम्बर १ घ्याङफेदीसम्म सवारी साधनमार्फत जान सकिन्छ । घ्याङफेदीबाट भने पैदन यात्रा गर्नुपर्ने हुन्छ । दुप्चेश्वर हुँदै गोसाइँकुण्ड जाने भक्तजनहरुले भने दुप्चेश्वर महादेवको दर्शन र सूर्यकुण्डबाट मनोरम दृश्य पनि हेर्ने अवसर प्राप्त गर्न सक्नुहुन्छ ।