चीनसँगको उत्तरी सीमा नाका तातोपानी भाेलि शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो ।
गएकाे मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, उहाँले भन्नुभयो ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकाेमा तीन महिनाअघिदेखि मालवाहक गाडीकाे आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रवारदेखि स्थानीयको आवागमन खुला गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।